
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठाएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा बुधबार गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ र पार्टीभित्र ‘पदाधिकारी बैठक’ का नाममा भइरहेका निर्णय प्रक्रियामाथि एकसाथ प्रहार गरे । ‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको सीमित पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ । यो गलत छ र यसलाई रोक्नुपर्छ ।’
महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंग पनि उठाए । उनले भने, ‘पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शीर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको छ । विधानको समयसीमा घर्किँदै जाँदा पनि महाधिवेशनको प्रक्रिया सुरु नहुनुले पनि नियतमाथि शंका उत्पन्न गराएको छ ।’
उनले पार्टीभित्र अवसरको न्यायोचित वितरण नभएको भन्दै चिन्ता जनाए । ‘पार्टीमा योगदान गरेका, क्षमता भएका र विचार बोकेका हजारौं कार्यकर्ता अवसरबाट वञ्चित छन्,’ उनको भनाइ छ, ‘नेपाली कांग्रेस लाखौं कार्यकर्ताको साझा घर हो । यहाँ अवसरको न्याय स्थापित नगरी पार्टी बलियो बन्दैन । हामीलाई अब नैतिक आचरण र वैचारिक बल भएको पार्टी चाहिएको छ ।’
नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भन्दै उनले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान् हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्नेमा जोड दिए । संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएकोतर्फ संकेत गर्दै उनले सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे ।
दशरथचन्द मेडिकल विश्वविद्यालयलाई आवश्यक नीति, कानुन निर्माण गरेर यथाशक्य छिटो सञ्चालन गर्नुपर्ने उनको जोड थियो । कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र (हब) बनाउने महत्त्वाकांक्षी योजना अघि सारे ।
‘हाम्रा विद्यार्थी मात्र विदेश जाने होइन, अब हामीले विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनुपर्छ,’ उनले आफ्नो भिजन स्पष्ट पार्दै भने, ‘यहाँबाट ज्ञान लिएर फर्किने विदेशी विद्यार्थीहरू संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्नेछन् । यसले हाम्रो जनपक्षीय कूटनीति (सफ्ट पावर) लाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ ।’