काठमाडौं, जेठ २९ :

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ महिला वरीयता सूचीमा नेपाल र भारत दुवैको स्थान खस्किएको छ।  

अघिल्लो पटक ९९औं  स्थानमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोली यसपटक एक स्थान तल झरेर १००औं  स्थानमा पुगेको छ। 

सन् २०२५ मा नेपालले थाइल्यान्डसँग खेलेको एक मात्र मैत्रीपूर्ण खेलमा २-० को हार व्यहोरेको थियो। सो जितपछि थाइल्यान्डले एक स्थान सुधार गर्दै ४६औं  स्थान ओगटेको छ।

यता भारत पनि एक स्थान तल झरेको छ र अब ७०औं  स्थानमा पुगेको छ। बंगलादेशले भने उल्लेख्य सुधार गरेको छ। पाँच स्थान उक्लँदै बंगलादेश अहिले १२८औं  स्थानमा पुगेको छ।

अन्य परिवर्तनहरू हेर्दा, इजिप्टले सात स्थानको ठूलो छलाङ मारी ९३औं  स्थानमा उक्लिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) भने पाँच स्थान तल झर्दै ११७औं  स्थानमा झरेको छ। पहिलो स्थानमा अमेरिका, दोस्रोमा स्पेन र तेस्रोमा जर्मनी यथावत् छन।