
उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरिएको छ। बिहीबार अदालत परिसरमै नेकपा (बहुमत) का कार्यकर्ताहरूले इजलासमा पुगेर थारुमाथि मोसो प्रहार गरेका हुन्। घटनापछि प्रहरीले घटनास्थलबाट दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई बहुचर्चित बम काण्डसम्बन्धी ज्यान मुद्दामा सफाइ दिएको थियो।
२०६४ सालमा रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेको अभियोगमा आलम २०७६ सालमा पक्राउ परेका थिए। उनीमाथि मानवअधिकार उल्लंघन, गैरकानुनी गतिविधि तथा ज्यान मार्ने गम्भीर अभियोगहरू लागेका थिए।
अदालतको फैसलापछि सामाजिक सञ्जाल र विभिन्न राजनीतिक वृत्तहरूमा आलोचना शुरु भएको थियो। नेकपा (बहुमत) सहितका केही दलहरूले आलमलाई सफाइ दिने निर्णयलाई ‘न्यायको अपमान’ भनेका छन्।
मोसो प्रहार गर्ने कार्यलाई अदालत प्रशासनले गैरकानुनी र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेको छ। उच्च अदालत वीरगञ्जले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।सुरक्षा चुनौतीका बीच अदालत परिसरभित्रै भएको उक्त घटनाले न्यायालयको सुरक्षामा प्रश्न उठाएको छ।