
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड रुपैयाँबराबर आम्दानी हुने दाबी गरेका छन् ।
यस वर्ष नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आइतबार ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले नेपालबाट बंगलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा एक अर्ब २५ करोड रुपैयाँबराबर आम्दानी हुने बताएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोबेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।
गत वर्षको असोज १७ गते प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।
ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए । गत वर्षदेखि नेपालले विद्युत् आयतभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाइ थियो ।
उनले मुलुकको दिगो आर्थिक विकासका लागि उर्जा क्षेत्र भरपर्दो माध्याम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताए । ‘सरकारले आन्तरिक विद्युत् खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,’ मन्त्री खड्काले भने ।
उनले विद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बूढीगण्डकी, अपर अरुणलगायत ठुला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गरे । विद्युत् व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाइ थियो ।
उनले जलविद्युत् क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सरकारले विनाधितो दुई लाखदेखि पाँच लाखसम्मको सेयर प्रदान गर्न लागिरहेको बताए । नेपालले हरेक वर्ष पाँच महिना बर्खाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।
आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।
पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बंगलादेश विद्युत् निर्यात गरिएको बताए । उनले आगामी दिनमा बढीभन्दा बढी विद्युत् बंगलादेश निर्यात गर्न छलफल भइरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरी अर्बौं आम्दानी हुने बताए ।
‘अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप-झ्याप बत्ती जाने गरे पनि यसलाई हटाउँदै लगिएको छ,’ उनले भने ।
त्यस्तै नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकामा आइतबार अर्थात् जुन १५ बाट बढाएर २०० मेगावाट बिक्री गरेको छ । त्यस्तै बिहारमा पनि ८० मेगावाट विद्युत् आइतबारबाटै निर्यात हुन सुरु भएको छ ।