काठमाडौं, असार २ :

काठमाडौंको गल्कोपाखामा रहेको आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

विद्यालयका कक्षा कप्तानसमेत रहेकी प्राज्नालाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा २ पदक जितेकामा प्राज्नालाई सम्मान गरिएको हो ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा गत वैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता भएको थियो । प्राज्नाले यू-१५ गर्ल्स डबल्समा रजत र टिम इभेन्टमा कास्य पदक जितेकी थिइन् । नेपालले प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्य गरी १२ पदक जितेको थियो ।

प्राज्ना आरम्भमै पूर्ण छात्रवृत्तिमा कक्षा ६ मा अध्ययनरत छन् । आरम्भले प्राज्नासँगै टेबलटेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

प्राज्नालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आरम्भका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले सम्मान गरे ।