
सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाले सालका काठ तस्करी गर्दै गरेको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ ।
कटारीबाट मिर्चैयातर्फ आउँदै गरेका ती गाडीलाई प्रहरीले सोमबार राति करिब १० बजे मिर्चैया नगरपालिका ७, फूलबरिया नजिकबाट नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार कटारी बेलसोत क्षेत्रबाट काठ बोकेर आइरहेका ती गाडी जाँच नगरी भागेपछि टोली परिचालन गरी नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएका गाडी मधेस प्रदेश-०३००१च-७१४४ र मधेस प्रदेश-१०१००१च-८५९५ नम्बरका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनाबारे वन कार्यालयलाई जानकारी गराइसकेको र थप अनुसन्धानका लागि काठसहितको गाडी वन कार्यालयका कर्मचारीलाई बोलाएर जिम्मा लगाउने जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएको काठ गोलबजार नगरपालिका ४ मा रहेको गुप्ता साह मिल फर्निचर उद्योगका सञ्चालक श्याम गुप्ता (करि) को रहेको खुलेको छ ।
तर वन कार्यालय मिर्चैयाकी अधिकृत आकृति तामाङले भने राति गाडी नियन्त्रणमा लिए पनि प्रहरीबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको जनाइन् । ‘हामीले प्रहरीबाट गाडी समातिएको सुनेका हौं, तर अहिलेसम्म लिखित वा मौखिक जानकारी आएको छैन,’ तामाङले भनिन्, ‘के कति काठ हो भन्ने थाहा पाउन प्रहरीको आधिकारिक जानकारी आवश्यक छ ।’
डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले प्रहरीले काठ जिम्मा लगाएपछि अनुसन्धान गर्ने र आवश्यक कारबाही अघि बढाइने जनाए ।