काठमाडौं, असार ४ :

नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । सुन मंगलबारको तुलनामा बुधबार प्रतितोला ९०० रुपैयाँले बढेको छ । योसँगै सुनको भाउ प्रतितोला २ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँ कायम छ । हिजो (मंगलबार) सुनको मूल्य एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबारको तुलनामा बुधबार चाँदी पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ । मंगलबार तोलाको २१ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।