
बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएको समयमा रैथाने बाली संरक्षणका लागि किसानलाई प्रोत्साहन गरिएको हो।
किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एक/एक हजार अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो ।
आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिए । “तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ, ’पौडेलले भने , ‘वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।’
एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार विनियोजन गरेको हो ।
यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् ।