काठमाडाैं, असार ७ :

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद चित्रबहादुर केसीले आफू संघीयता विरोधी नभएको स्पष्ट पारेका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा संघीय प्रणाली आवश्यक नभएको र यसको प्रयोग व्यावहारिकरूपमा सम्भव नदेखिएको बताए।

‘म संघीयता विरोधी होइन,’ उनले भने, ‘तर नेपालमा संघीयता सम्भव छैन, यसको आवश्यकता छैन भन्नु र प्रणालीकै विरोध गर्नु एउटै होइन।’

उनले संविधान निर्माणको बेला नेपाली जनताले स्वेच्छाले संघीयता नरोजेको दाबी गरे। ‘राजीखुशीले संघीयता आएको होइन,’ केसीले भने, ‘यो प्रणाली थोपेर ल्याइएको हो।’

केसीले संघीयता लागु गरिँदा राष्ट्रलाई अनावश्यक भार परेको र यसको आर्थिक लागतले मुलुकलाई ऋणको दलदलमा डुबाएको टिप्पणी गरे। ‘प्रदेशको भारी बोकाएर राष्ट्रलाई विचल्ली गराउने उद्देश्यले संघीयता लादिएको हो,’उनले आरोप लगाए।