
नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दुईदिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिस्ट’ कार्यक्रमका वक्ताहरुले जनतामा छाएको निराशा चिर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार र शनिबार भएको तालिमले बैंकिङ विषयमा समाचार लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुगेको विश्वास गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत नरबहादुर थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलगायतको उपस्थितिमा भएको तालिममा बैकिङ क्षेत्रको अवस्था, चुनौती र अर्थतन्त्रको विकासमा देखिएको अवरोधका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नबिल बैंकका फाइनान्स हेड सन्दीपबाबु पौडेलले ‘बैंकमा नाफा निर्धारण’ को विषयमा प्रशिक्षण दिएका थिए । यसैगरी नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी र नबिल बैंकका इन्फर्मेसन सेक्युरिटी अफिसर प्रवेश पौडेलले डिजिटल वित्तीय साक्षरताको विषयमा छुट्टाछुट्टै प्रस्तुति दिएका थिए ।
यसैगरी ‘आर्थिक विकास र अबको बाटो’ विषयमा प्यानल छलफलसमेत भएको थियो । नाफिजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले सहजीकरण गरेको छलफलमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष दाहाल र अर्थविद् निशान्त खनाल वक्ताका रूपमा थिए ।
कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञवालीले सञ्चारमाध्यमबाट बैंकिङ क्षेत्रले गरेको अपेक्षाबारे प्रकाश पारेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य श्रेष्ठले सामाजिक विश्वसनीयतामा कमी आउँदा त्यसले आम जनतामा निराशा छाएको उल्लेख गरे । अर्थतन्त्रका बारेमा नजान्दै धारणहरु राख्ने व्यक्तिहरू र तथ्यमा आधारित नभै सूचना सम्प्रेषण गर्ने मिडियाका कारण जनतामा विश्वसनीयता गुम्दै गएको धारणा राखे । उनले बैकिङ क्षेत्र मात्रै नभएर अर्थतन्त्रका बारेमा देखिएका सकारात्मक पक्षमा समेत जोड दिन आग्रह गरे ।
यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले सूचनाको संवाहक रहेका पत्रकारहरूले वित्तीय क्षेत्रको जोखिम बुझेर संवेदनशीलता अपनाउन पत्रकारहरूलाई आग्रह गरे । ‘तथ्यगत सूचना सम्प्रेषण गरेर वित्तीय क्षेत्रको संवेनशीलतालाई पत्रकारले बुझेर समाचार सम्प्रेषण गर्नुहुन अनुरोध गर्छु,’ उनले भने ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बैकिङ क्षेत्रको सूचना सम्प्रेषण गर्दै गर्दा तथ्यमा आधारित भए मात्र गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । बैंकहरु निजी नभएर सार्वजनिक संस्था भएको हुँदा तथ्यमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उनको भनाइ छ । यद्यपि बैंकहरु पनि गलत रहेको उदाहरण दिँदै सही र गलत छुट्याएर मात्रै समाचार लेख्न सकिने उनले बताए । बैंक निजी नभएर सार्वजनिक हो र सर्वसाधारणकै बचतले चलेको छ भन्ने बुझाउन मिडियाको भूमिका महत्त्वपूर्ण रहने उनको तर्क थियो ।
नाफिज अध्यक्ष मेनुका कार्कीले यस प्रकारको तालिमले पत्रकारहरूको कलम गहन र अझै प्रभावकारी ढंगले चल्ने बताइन् । उनले दिनप्रतिदिन बैकिङ क्षेत्रमा खराब कर्जा बढ्दै जाँदा जनमानसमा यो क्षेत्र समस्यामा पर्ने हो कि भन्ने आशंका उब्जाएको समेत बताउँदै समाधान तर्फ राष्ट्र बैंक लाग्नुपर्ने धारणा राखिन् । देशमा देखिएको निराशा चिर्नलाई उद्यमीहरूलाई प्रोत्साहन गर्दै हरेक बैंकले सहज रूपमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
प्यानल छलफलमा कसले के भने ?
प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाले सरकारले विकासे रणनीतिक योजनाहरूलाई कार्यान्वयन गर्न नसक्दा जनतामा निराशा छाउन थालेको तर्क गरे । उनले संविधान आएको बर्ष २०७२ यता विकासे आयोजना कार्यान्वयनको अवस्था कमजोर देखिँदा त्यसले जनतामा निराशाको वातावरण सिर्जना गरेको बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले त्यस्ता रणनीतिक योजनाहरू कार्यान्वयन गर्ने,बैंकिङ क्षेत्रबाट उत्पादनमूलक क्षेत्रका कर्जा सहजीकरण गर्नेलगायत काम गरे मात्रै जनतामा पुनः आशाको सञ्चार हुने धारणा व्यक्त गरे ।
यस्तै बैंकर्स संघका पूर्वअध्यक्ष दाहालले सरकारले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन नसक्दा अर्थतन्त्रको चक्र बिथोलिएको धारणा राखे । उनले अर्थतन्त्रलाई उकास्दै जनतामा विश्वासको वातावरण जगाउन सरकारले लिने रणनीतिसँगै आम सञ्चारमाध्यमले अवलम्बन गर्ने तथ्यपरक नीतिले जनतालाई निराशाबाट आशा तिर लैजान सक्ने धारणा राखे ।
यस्तै अर्थविद् निशान्त खनालले नागरिकको अपेक्षा र विकासको गतिको तालमेल नमिल्दा त्यसले जनतामा निराशाको वातावरण सिर्जना गरेको बताए । उनले भने, ‘तथ्यांकमा विकासले फड्को मारे पनि जनताले अपेक्षा गरेअनुसारको विकासको अनुभूति गर्न नसक्दा त्यसले निराशा फैलाएको छ।’
कार्यक्रममा बैंकिङ क्षेत्रमा मात्रै नभएर अर्थतन्त्रका तमाम समस्या देखिए पनि देशको आर्थिक सूचकहरू सुधारोन्मुख देखिँदै गएका कारण जनतामा सकारात्मक सूचना सम्प्रेषण गर्न विज्ञहरूले आग्रह गरे । सूचना सम्प्रेषणमा मिडियाको भूमिका महत्त्वपूर्ण रहने हुँदा तथ्यपरक र सकारात्मक सूचनालाई सम्प्रेषण गर्दै जनतामा देखिएको निराशालाई घटाउनसमेत उनीहरूले जोड दिए ।