
परराष्ट्रमन्त्री आरजु राणाले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइ र नेपाल फिर्तीका लागि उच्च तहमा प्रयास भइरहेको बताएकी छन्।
प्रतिनिधिसभामा सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राणाले विपिन जोशी अहिले सकुशल रहेको जानकारी दिँदै, 'हाम्रा छोरा विपिन सकुशल छन् र फर्किनेछन्। हामीले पहल गरिरहेका छौँ। कहिल्यै गिभअप गर्नु हुँदैन,' भनी दृढ अडान व्यक्त गरिन्।
उनले इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूसँगसमेत यस विषयमा कुराकानी गरिसकेको जानकारी दिँदै कूटनीतिक माध्यमबाट रिहाइको प्रयास तीव्र पारिएको बताइन्।
मन्त्री राणाले यो प्रयासमा आफू मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको समेत सक्रिय भूमिका रहेको स्पष्ट पारिन्।
हमासले युद्धबन्दीहरु धमाधम रिहा गरिरहँदा नेपालका विपिन जोशी कहिले छुट्लान भन्ने सधैं चासो हुने गरेको छ ।