
इरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भोलिसम्म भारत ल्याउने तयारी गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार ती ११ जना हाल मसाद भन्ने ठाउँमा छन् । भारतको परराष्ट्र मन्त्रालयको सहयोगमा उनीहरूलाई उद्धार गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले बाँकी ५ जना नेपाली गैरकानुनी रूपमा इरान गएकाले त्यहाँको जेलमा रहेको जानकारी दिइन्। ती नेपालीहरूको पनि उद्धार सम्भव छ कि भनेर प्रयास भइरहेको उनले बताइन्।
इरानमा रहेका नेपालीहरूमध्ये अधिकांश वैदेशिक रोजगारका सिलसिलामा गएका हुन् भन्ने अनुमान गरिएको छ। परराष्ट्र मन्त्रालयले उनीहरूको सुरक्षालाई प्राथमिकता दिँदै भारतीय समकक्षीसँग समन्वय गरिरहेको छ।
यसैबीच, परराष्ट्रमन्त्री डा. राणाले इजरायलबाट नेपाल फर्कन ८८५ नेपालीले नाम दर्ता गराएको जानकारी दिएकी छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले इजरायल–इरानबीच युद्धको खतरा बढेपछि सरकार नागरिकको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको बताइन्।
उनका अनुसार, जुन १७ देखि खोलिएको पोर्टलमा अहिलेसम्म ८८५ जनाले फर्कने इच्छा जनाएका छन्। अब छिट्टै ‘श्रम संसार’ एपलाई ‘नागरिक एप’सँग जोडेर अझ सहज बनाइने उनले बताइन्।
सरकारले युद्ध सुरु भएदेखि नै इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। मन्त्री राणाले प्रेस विज्ञप्ति र एड्भाइजरी जारी गरेर नेपालीलाई सचेत गराइएको जानकारी दिइन्।
उनले सम्बन्धित देशमा रहेका नेपाली राजदूतहरूसँग नियमित सम्पर्कमा रही त्यहाँको अवस्था बुझ्ने काम भइरहेको पनि बताइन्।त्यसैगरी, विदेशमा अवैधानिक रूपमा काम गरिरहेका नेपालीलाई वैधानिक बनाउन कार्यदल बनाएर काम अगाडि बढाइएको उनले जानकारी दिइन्।
इरान र इजरायलबीचको युद्ध चर्किदै जाँदा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई सम्बन्धित देशले धमाधम उद्धार गरिरहेको छ । यसैक्रममा नेपालले पनि भारतको सहयोगमा त्यहाँ रहेका जति पनि नेपालीको उद्धारको पहल गरेको हो । दुई देश बीचको युद्धले चर्को रुप लिएको छ । त्यहाँ दुवै देशका थुप्रै नागरिकको ज्यान गइसकेको छ ।