
प्रधानमन्त्री केपी ओलीले धनुषा र सिरहा जोड्ने कमला पुल सकेसम्म चाडै निर्माण गरिने आश्वासन दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावका सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कमला पुल छिटो बन्नेमा ढुक्क हुन आग्रह गरे ।
अहिलेको सरकारले सबै ठाउँमा आवश्यक बाटा-घाटा र निर्माणमा ध्यान दिने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै विषयमा सरकारले आवश्यक र उचित काम गर्ने स्पष्ट गरे । ‘राष्ट्रिय हितका सन्दर्भमा सजग रहेर विश्व शान्ति र न्यायका पक्षमा सदैव हामी छौं । हाम्रो असंलग्न परराष्ट्र नीतिप्रति हामी प्रतिबद्ध छौँ,’ ओलीले भने, ‘प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन । हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौं । कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा संकीर्ण सोचमा हामी हुन्नौँ ।’
प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामती विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गरे । यस्तै उनले दैलेखमा उत्खनन् भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुने गरी काम गरिने प्रतिबद्धता जनाए ।