काठमाडौं, असार ११ :

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।     

च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

ओलीले प्रधानमन्त्री भएबापत मासिक २५ हजारका दरले एक वर्षको लेबी र पार्टी सदस्यता शुल्क बुझाएका छन् ।  उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् । एमालेको पार्टी सदस्यता शुल्क भने मासिक ३ सय रुपैयाँ रहेको छ ।

एमालेको विधानमा सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ । यस्तै नेता तथा कार्यकर्ताहरूले पनि प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान छ ।