काठमाडौं, असार ११ :

सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश २०८२ स्वीकृत गरेको छ। साथै नेपाली सेनाका दुई महासेनानीहरूको पदावधि थप गर्ने, एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने र दुई उपरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ। 

सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने पनि निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकका ती निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्नुका साथै तथ्याङ्क प्रणाली विकासका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीति स्वीकृत गरेको जानकारी प्रवक्ता गुरुङले दिएका छन्।

त्यस्तै, अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त २७ जना खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान दिने निर्णय पनि बैठकले गरेको छ।

साथै, भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय सात सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरिएको छ। समितिमा विभिन्न मन्त्रालयका सह-सचिवहरू सदस्य रहने छन्। प्रवक्ता गुरुङले छानबिन समितिलाई सबैले विश्वास गर्नुपर्ने भन्दै प्रतिपक्षी दललाई सकारात्मक सुझाव दिन आह्वान गरेका छन्।