काठमाडौं, असार १२ :

निर्वाचन आयोगले उपनिर्वाचनको तयारीस्वरूप मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका नागरिकलाई छिटो दर्ता गराउन आग्रह गरेको छ।  आयोगले आगामी निर्वाचनको मिति घोषणा भएपछि नयाँ नाम दर्ता गर्न नमिल्ने हुँदा समयमै नाम दर्ता गर्न सबैलाई अनुरोध गरेको हो।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन,’ भनी जानकारी दिइएको छ। आयोगले सबै नेपाली नागरिकलाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न समयमै मतदाता नामावलीमा नाम समावेश गराउन आग्रह गरेको छ।

देशभरका विभिन्न तहमा रिक्त पदहरू भएकाले उपनिर्वाचनको तयारी भइरहेको आयोगले जनाएको छ। यद्यपि, उपनिर्वाचनको मिति भने अहिलेसम्म घोषणा गरिएको छैन। तर, छिट्टै मिति तोकिने तयारी भइरहेको बताइएको छ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधनका कारण पद रिक्त भएको छ। मनाङ १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि सो पद खाली भएको छ। साथै, स्थानीय तहमा पनि एक दर्जनभन्दा बढी वडाध्यक्षका पद रिक्त रहेका छन्।