
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका १० द्वारा आयोजित एकदिने प्रशिक्ष्ण कार्यक्रममा उनले भ्रातृ संगठन, कांग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भए मात्रै कांग्रेस बलियो हुनेमा जोड दिए । उनले जनताको परीक्षामा पटक-पटक पास भएको पार्टी कांग्रेस भएको पनि दाबी गरे ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीमन्त्रीसमेत रहेका सिंहले भने, ‘कांग्रेस पार्टी, कांग्रेसका भ्रातृ संगठन, शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै तपाईं हामीले सन्तोषको स्वास फेर्न सक्छौँ । होइन भने धेरै अप्ठ्यारो हुन्छ ।’ उनले समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले २००३ सालमा स्थापना भएको कांग्रेस पार्टीलाई यत्रो परिवर्तन ल्याउन सफल भएको दाबी पनि गरे ।
अहिले पनि नागरिकले कांग्रेसमाथि प्रश्न गरिरहेको उनको भनाइ छ । सिंहले भने, ‘भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन । हामी त पटक-पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ ।’
उपप्रधानमन्त्री सिंहले सरकार गठन हुँदाको सहमतिअनुसार अघि बढिरहेको भन्दै नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने दाबी गरे । नयाँ पार्टीले जे भन्यो त्यो मान्दै जान नसकिने भन्दै उनले जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर कुनै आन्दोलनमा सहभागी नभएका दलले केही काम गर्छन् भन्ने आशा गर्नु तर्कसंगत नहुने धारणा राखे ।
उनले जनताको अधिकारका लागि प्रतिकूल अवस्थामा संघर्ष गरेका पार्टीहरुलाई नजरअन्दाज गर्न नहुने बताए ।
सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने भन्दै सरकारले जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा जोड दिइरहेको बताए ।