
नेपाली चलचित्र ‘ऊनको स्विटर’ ले देशभरका करिब ४० वटा सिनेमा हलमा शनिबार सफलतापूर्वक प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । यो चलचित्रले दर्शकको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो । नेपाली चलचित्र क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठुलो सफलता मानिन्छ ।
विशेषगरी नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण ‘ऊनको स्विटर’ दर्शकमाझ लोकप्रिय बनेको छ । यसका निर्देशक नवीन चौहानले सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभचिन्तकहरूप्रति आभार प्रकट गरे । उनले यस चलचित्रले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए ।
‘ऊनको स्विटर’ ले ग्रामीण तथा सहरी दुवै क्षेत्रका दर्शकलाई आकर्षित गर्न सफल भएको छ । हल सञ्चालकहरूका अनुसार, यो चलचित्र हेर्न परिवारसहित आउने दर्शकको सङ्ख्या उल्लेख्य छ । चलचित्रले मिडिया समीक्षक तथा स्वतन्त्र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । जसले गर्दा यसको चर्चा अझ बढेको छ ।
चौहानले नै यस चलचित्रको स्क्रिप्ट लेखेका हुन् भने आर्टमान्डूले निर्माण गरेको हो । विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू, विल्सनविक्रम राई, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय छ । यसका गीत निर्देशक सुजन चापागाईं हुन् भने सङ्गीत निर्देशक कोविद बज्र हुन् ।