काठमाडाैं, असार १४ :

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई महासचिव बनाउनु आफैंमा ऐतिहासिक निर्णय रहेको बताएका छन्। उनले भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनाएको भएपनि त्यस निर्णयको नेतृत्व आफूहरुले गरेको दाबी गरे।

शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘मदन भण्डारी त्यतिकै नेता बनेका होइनन्, फुत्त निस्केर आएका होइनन्।’ उनका अनुसार पार्टीको छैठौँ महाधिवेशनमा पारित वैचारिक दस्तावेजले पार्टीलाई नयाँ दिशा दिएको भए पनि त्यो उपलब्धि भण्डारी महासचिव नबनेको भए सम्भव हुने थिएन।

‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो,’ ओलीले भने, ‘उहाँलाई महासचिव बनाउनु सार्वजनिक र ऐतिहासिक महत्वको कुरा हो। नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने कि नबढ्ने भन्ने कुरामा फरक पर्छ।’

कार्यक्रममा ओलीले भण्डारीको नेतृत्व क्षमताको प्रशंसा गर्दै उनको वैचारिक स्पष्टता, संगठन निर्माण र जनसङ्गठनसँगको सम्बन्धलाई एमालेको उन्नतिमा निर्णायक भूमिका भएको उल्लेख गरे।

अध्यक्ष ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।’ उहाँले एमाले एक रहेको र एक रहने उल्लेख गर्नुभयो । 
    
प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) मार्क्सवाद चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पु¥याएको योगदान र गरेको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए ।