
बंगलादेशविरुद्धको दुई टेस्ट खेलको शृंखलामा श्रीलंका १–० ले विजयी भएको छ। कोलम्बोमा सम्पन्न दोस्रो टेस्टमा श्रीलंकाले बंगलादेशलाई एक इनिङ र ७८ रनले पराजित गर्दै आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ मा महत्वपूर्ण तीन अङ्क जोडेको हो।
यो जितसँगै श्रीलंका च्याम्पियनसिपको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलिया पहिलो र इङ्ग्ल्यान्ड दोस्रो स्थानमा छन्।
दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिङमा २४७ रन बनाएको थियो। जवाफमा श्रीलंकाले ४५८ रन बनाउँदै २११ रनको ठुलो अग्रता लियो। दोस्रो इनिङमा बंगलादेश १३३ रनमै समेटियो, जसका कारण एक इनिङले पराजय व्यहोर्नुपर्यो।
यसअघि गालेमा सम्पन्न पहिलो टेस्ट खेल बराबरीमा सकिएको थियो। यस शृंखला अन्तर्गतको दुवै खेल आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको हिस्सा थिए।
श्रीलंकाले बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै घरेलु मैदानमा प्रभावशाली जित निकालेको हो।