काठमाडौं, असार १६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् ।

उनले विशेषगरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुसी जनाए । ‘खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ । अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ । म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।’

प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ । ५५ केजी तौल समूहमा शरद सुवालले रजत पदक जितेका छन् । महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शिला ठकुरीले रजत पदक जितेर नेपालको झन्डा फहराएका छन् । उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छन् ।

त्यसैगरी पुरुष स्पोर्ट्स फिजिक १७५ सेमिमुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ सेमिमाथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन् ।

अध्यक्ष दाहालले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत-साधन उपलब्ध गराउनुपर्नेमा जोड दिए ।