काठमाडौं, असार १६ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औं महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गरेका छन् ।

पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकमा महरले महाधिवेशनको अनिश्चितताले पार्टीपंक्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर पारेको धारणा राखे । ‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टीपंक्तिमा अन्योल बढाएको छ,’ उनले भने, ‘विधानअनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन ।’

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले विस्तृत र बुँदागत रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

पार्टी संगठन र आन्तरिक व्यवस्थापनमा जोड
नेता महरले पार्टी संगठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए । उनले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजान सुझाए । लामो समयदेखि हुन नसकेको भ्रातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेन्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनको सुझाव थियो । उनले पार्टीका निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन । सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ ।’

सरकारको कामकारबाही र गठबन्धनप्रति असन्तुष्टि
महरले तीनै तहका सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र हालै प्रस्तुत बजेटबारे जनताको प्रतिक्रिया राम्रो नआएकाले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे । सरकार निर्माणताका भएको सातबुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाउँदै महरले भने, ‘सबैभन्दा ठुलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ ।’

उनले बढ्दो वाम धुर्वीकरण र ‘गठबन्धन दुर्घटना’को जवाफदेहिता नेतृत्वले लिनुपर्ने र शक्ति सन्तुलनका लागि संवैधानिक नियुक्तिहरूमा पार्टीको स्पष्ट अडान हुनुपर्नेमा जोड दिए ।

नीति, योजना र सुशासनमा स्पष्टताको माग
नेता महरले शासन राम्रो हुन दल र नेता-कार्यकर्ता इमानदार हुनुपर्ने बताउँदै पार्टीभित्र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी नीति बनाउन माग गरे । उनले भने, ‘हामी योजना प्रणालीमा विश्वास गर्दैनौं, योजना झोला र सल्तीमा बोकेर हिँड्छौं । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

१४औं महाधिवेशनका एजेन्डा र महासमिति बैठकका प्रतिवेदनहरू सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, उपनिर्वाचनको समीक्षा गर्नुपर्ने र पार्टीको घोषणापत्र कार्यान्वयनको अडिट गर्नुपर्नेजस्ता विषय पनि उनले बैठकमा उठाएका थिए ।

नेपाल वित्तीय ‘ग्रे जोन’मा पर्ने खतराप्रति गम्भीर बन्न आग्रह
केन्द्रीय सदस्य महरले नेपाल सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलामा अन्तर्राष्ट्रिय ‘ग्रे जोन’ मा पर्ने गम्भीर खतरा रहेको भन्दै पार्टी र सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले यसले देशको समग्र अर्थतन्त्र, बैंकिङ प्रणाली, विदेशी लगानी र अन्तर्राष्ट्रिय प्रतिष्ठामा विनाशकारी असर पार्ने चेतावनी दिए । उनले भने, ‘नेपाल वित्तीय ग्रे जोनमा परेको छ। आवश्यक कानुन निर्माण र कार्यान्वयनमा सरकार सुस्त देखिएको छ । नेपाली कांग्रेस सत्ताको प्रमुख हिस्सेदार भएको नाताले यो राष्ट्रिय संकट टार्नका लागि नेतृत्व लिनुपर्छ ।’

उनले यो अस्पष्टता र जोखिमलाई हटाउन कांग्रेसले अविलम्ब प्रतिबद्धता जनाउँदै सरकारलाई ठोस कदम चाल्न दबाब दिनुपर्ने र आवश्यक परेमा यसको अध्ययन गरी पार्टीको आधिकारिक धारणा बनाउन एक विशेष समिति गठन गर्नुपर्नेमा जोड दिए ।

शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनजस्ता विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने, कूटनीतिक मर्यादा र आचारसंहिता पालना गर्नुपर्ने र विदेशबाट फर्किएका (रिटर्नी) हरूको व्यवस्थापनमा ध्यान दिनुपर्नेजस्ता विषयमा उनले नेतृत्वको ध्यानाकर्षण गराए ।

समग्रमा केन्द्रीय सदस्य महरले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण, सरकारको काम-कारबाहीको गम्भीर समीक्षा, आगामी महाधिवेशनको स्पष्ट मार्गचित्र र पार्टीका सबै तहमा जवाफदेहिता स्थापित गर्नुपर्ने, घोषणापत्रको अडिटको विषय समेत बैठकमा उठान गरेका थिए ।