
फाइल तस्बिर।
सत्तारुढ नेपाली कांग्रेसले सर्वसम्मतिमा निर्णय गरिएको ‘कुलिङ पिरियड’ मा विश्वासघात भएको भन्दै छानबिनको माग गरेको छ। पार्टीले पदको दुरुपयोग भएको आरोप लगाउँदै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकका क्रममा मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडको निर्णय सर्वसम्मतिबाट भएको स्पष्ट पार्दै त्यसमा विश्वासघात भएको दाबी गरे।
‘कुलिङ पिरियड राख्नैपर्ने हाम्रो स्पष्ट धारणा हो,’ महतले भने, ‘त्यही भएर सर्वसम्मतिबाट निर्णय गरिएको हो। त्यसैको आधारमा प्रतिनिधिसभाको पूर्ण बैठकमा सांसदहरूले दफावार पनि पढ्नुभएन होला।’
उनले पदको दुरुपयोग गरेर कुलिङ पिरियड हटाइएको आरोप लगाउँदै छानबिनको माग गरे। ‘विश्वासघात भएको छ,’ महतले भने, ‘जसले पदको दुरुपयोग गरेका छन्, उनीहरूलाई छानबिनको दायरामा ल्याइनुपर्छ।’