पर्सा, भदौ २६ :

मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको पाइएको छ।

आर्थिक वर्ष २०८०- ८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरले जनाएको हो ।

सो केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् चुहावट भएको पाइएको प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो ।

मधेसका गाउँ- गाउँमा विद्युत् चोरी धेरै भएकाले पनि चुहावटको मात्रा धेरै देखिएको उहाँले बताउनुभयो ।

मौलापुरमा हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिँदै आइरहेको र विद्युत् चोरी गर्नेलाई पक्राउ गरेर आवश्यक जरिवाना पनि गर्दै आएको उहाँले बताउनुभयो ।

मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा बाराको सिम्रौनगढ वितरण केन्द्र रहेको छ। सो केन्द्रमा पनि ४३ दशमलव २३ प्रतिशत विद्युत् चुहावट भएको छ ।

यस्तै तेस्रो धेरै विद्युत् चुहावट हुने मलङ्गवा वितरण केन्द्रबाट गत आर्थिक वर्षमा ४२ दशमलव ९१ प्रतिशतले विद्युत् चुहावट भएको छ ।

प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट विद्युत् चुहावट एक दशमलव ४० प्रतिशतमात्र रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरले बताउनुभयो ।

गत आर्थिक वर्षमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो। 

विद्युत् चुहावटमा संलग्न रहेकाबाट छ करोड २० लाख तीन हजार नौ सय ५८ रकम जरिवाना सङ्कलन गरेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरले जनाएको छ ।