
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाललाई दुई छिमेकी भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ (जीवन्त सेतु) का रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई तामाङ ट्रेलका रुपमा विकास गर्नेसम्बन्धी छलफल कार्यक्रममा बिहीबार उनले नेपाललाई ‘बफर स्टेट’ का रुपमा नभई तीव्र आर्थिक विकासका दृष्टिले ‘भाइब्रेटिङ ब्रिज’ का रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।
चीन विश्वको दोस्रो र भारत तेस्रो ठुलो अर्थतन्त्रको बीचमा रहेको नेपाललाई उनीहरुले गरेको विकासको प्रत्यक्ष लाभ लिन ‘भाइब्रेटिङ ब्रिज’ को नीति प्रभावकारी हुने उनको भनाइ थियो ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला ०६४ सालमा उत्तर-दक्षिण करिडोरको अवधारणा अघि सारेको भन्दै उनले त्यसले दुई छिमेकीबीच ‘भाइब्रेन्ट ब्रिज’ को काम गर्ने बताए ।
‘नेपाल विश्वको दोस्रो र तेस्रो ठुलो अर्थतन्त्रको बीचमा छ,’ पुनले भने, ‘कूटनीतिक सम्बन्ध थप सृदृढ गरेर आर्थिक विकासका लागि उत्तर र दक्षिणको अर्थतन्त्र जोड्न नेपालले भाइब्रेटिङ ब्रिजका रुपमा काम गर्नुपर्छ ।’
पुनले उत्तर-दक्षिण करिडोरलाई भौतिक पूर्वाधार र कनेक्टिभिटीका साथै धार्मिक, सांस्कृतिकका साथै पर्या-पर्यटन तथा सहरीकरण र कृषि जोन विकासको अवधारणामा लैजानुपर्ने औंल्याए । ‘यस्ता करिडोरहरुले पहिला जनतालाई जोड्छ, अर्को सांस्कृतिक र आर्थिक रुपले जोड्छ,’ उनले भने ।
फरक प्रसंगमा उनले कोभिड-१९ महामारी अगाडि सन् २०१९ मा चीनबाट १४ करोड र भारतबाट ५ करोड मानिस घुम्न विश्वका विभिन्न देश निस्किएको चर्चा गर्दै केही वर्ष रोकिएको यो क्रम आगामी वर्षबाट फेरि सुरु हुन लागेको बताए ।
नेपालले उत्पादनमूलक उद्योगमा चीन र भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने भए पनि पर्यटनमा प्रतिस्पर्धाको सम्भावना रहेको औंल्याए । ‘चीन र भारतका मास प्रोडक्सन गर्ने उद्योगहरुसँग हामी प्रतिस्पर्धा गर्न नसकौंला,’ उनले भने, ‘तर, हाम्रा हिमाल,संस्कृति, जातजाति, भाषा, वेशभूषा, पहाड र सभ्यताहरुले न चीन न भारत कोहीसँग प्रतिस्पर्धा गर्नुपर्दैन, हाम्रो प्रतिस्पर्धा हामीसँगै हो ।’