मकवानपुर, असार २२ :

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष  २०८२/०८३ को बजेट आज पास गर्ने तयारी गरिएको छ ।

यही असार १२ गतेदेखि विवादका कारण  पटक पटक अवरुद्ध हुँदै आएको वाग्मती प्रदेशसभाको बैठक अस्ति दिउँसो र हिजो अबेर  बसेको थियो । शुक्रबार बजेट वक्तव्य माथि छलफल गरेर विनियोजन विधेयक पेस गरिएको थियो । तर प्रतिपक्ष दलले बजेटको पूरक प्रस्ताव माग गरेपछी बैठक स्थगित भएको थियो ।

दलहरुबीच  छलफल भएपनि प्रतिपक्षले बजेटको पुरक प्रस्ताव माग अघि सारेपछि सहमति जुट्न सकेन र अन्ततः सरकारले हिजो साँझ संसदमा बजेटको पूरक प्रस्ताव दर्ता गरेको थियो ।

त्यसलगत्तै सञ्चालन भएको प्रदेशसभा बैठक बजेटको पूरक प्रस्ताव र विनियोजन विधेयक पेस गरी छलफल गरिएको थियो । छलफल पश्चात् सभामुख भुवन कुमार पाठकले खर्च कटौतीको प्रस्ताव माग गरेर प्रदेशसभा बैठक आज ११ बजे सम्मका लागि स्थगित गरेका थिए ।

आइतबार मन्त्रालयगत छलफल, मन्त्रीहरूको जवाफ सहित खर्च कटौतीको प्रस्ताव माथि निर्णय गरेर बजेट पास गर्ने तयारी गरिएको सभामुख पाठकले जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस  संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले आज  बिहान ११  बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । साथै  पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन समेत दिएका छन्।

हिजो जारी गरिएको पत्रमा प्रमुख सचेतक लम्सालले पार्टीको नीतिगत निर्णयअनुसार बजेट सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।