काठमाडौं, असार २२ :

नेपाली युवाहरुको उद्यमशील प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग च्यू’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै लोकप्रिय बनेको हो ।

ललितपुरस्थित चापागाउँमा ३ वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईंका अनुसार अमेरिकामा एमेजनमार्फत ५,१०० प्याकेज छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो । ग्राहकको सकारात्मक प्रतिक्रियासँगै माग एक महिनामै तीनगुना बढेको उनले जानकारी दिए ।

ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले सफलता
‘याला हिमालयन’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग च्यू’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको हो । उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक नि:शुल्क अफरसमेत ल्याएको छ । अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ ।

अमेरिकी बजारमा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापानजस्ता विकसित मुलुकका बजारमा समेत आफ्नो उत्पादन पुर्‍याउने योजना बनाएको छ । कम्पनीका निर्देशक विश्वबन्धु शर्माले भने,‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं ।’

याला हिमालयन ग्रुप अन्तर्गतको प्रमुख ब्रान्ड ‘याला हिमालयन डग च्यू’ हाल अमेरिकी बजारमा खुद्रा बिक्रेताहरु र अनलाइन मार्केटप्लेसहरू- जस्तै अमेजनमा उपलब्ध भइसकेको छ ।

याला हिमालयन नेपालको पहिलो कम्पनी हौं जसले किसानहरूसँग सिधा सहकार्य गर्दै गाउँघरमा उत्पादन भएको दूध खरिद गर्छ, त्यसलाई यस याला हिमालयनको अत्याधुनिक उत्पादन केन्द्रमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्रान्डअन्तर्गत निर्यात गर्छ ।

याला हिमालयनको उद्देश्य केवल व्यावसायिक सफलता नभई, स्थानीय किसानको जीवनस्तर उकास्ने, दिगो उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने र नेपालको मौलिक उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने हो ।

‘याला हिमालयन डग च्यू’ को सफलतामा किसानसँगको प्रत्यक्ष सहकार्यमा आधारित आपूर्ति प्रणालीको महत्त्वपूर्ण भूमिका छ । कम्पनीले देशका ८ वटा स्थानीय उत्पादन संस्थासँग सम्झौता गरी ग्रामीण स्तरमा किसानसँग मिलेर छुर्पी उत्पादन र संकलन गरिरहेको छ । यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउनुका साथै नेपाली मौलिकता संरक्षणमा समेत टेवा पुर्‍याएको कम्पनीको दाबी छ ।

याला हिमालयन डग च्यूको उत्पादन कार्य अहिले ललितपुरको चापागाउँमा अवस्थित अत्याधुनिक उत्पादन केन्द्रबाट सञ्चालन हुँदै आएको छ । यो सुविधा विस्तृत भू-क्षेत्रफलमा फैलिएको छ । जहाँ यस याला हिमालयले कच्चा दूधबाट सुरु गरेर तयार छुर्पी (डग च्यू) उत्पादन गर्ने १०-१२ चरणको सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा गर्दै आएको छ ।

यस याला हिमालयनले आफैं उत्पादन गर्छ, प्याक गर्छ र निर्यात गर्छ । अहिले याला हिमालयन फ्याक्ट्रीमा ३०–४० जना दक्ष जनशक्ति कार्यरत छन् । जसले उत्पादन, गुणस्तर नियन्त्रण, प्याकेजिङ, व्यवस्थापन र ढुवानीसम्मका सम्पूर्ण प्रक्रिया सम्हालिरहेका छन् ।

यस याला हिमालयनको लक्ष्य भनेको स्थानीय जनशक्तिलाई रोजगारी सिर्जना गर्नुका साथै नेपालमै विश्वस्तरीय उत्पादन प्रक्रिया स्थापित गर्ने हो ।

हालको बजार विश्लेषणअनुसार सन् २०३५ सम्म ‘डग च्यू’ को मागमा वार्षिक ८ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । विशेषज्ञहरूको भनाइमा, यदि कम्पनीले अहिलेको गुणस्तर, वितरण र ब्रान्डिङलाई निरन्तरता दिन सके ‘याला हिमालयन डग च्यू’ जस्ता उत्पादनले विश्वव्यापी रूपमा नेपाली पहिचान बलियो बनाउनेछन् ।

कृषि, पशुपालन र निर्यात क्षेत्रलाई समायोजन गरेर सञ्चालन गरिएको यो परियोजना नेपालमा नयाँ सम्भावनाको ढोका खोल्ने नमुना योजनाका रूपमा स्थापित भइरहेको छ । नेपाली किसानको परिश्रम, युवाको सोच र प्रविधिको संयोजनले उत्पादित छुर्पी आज विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनेको छ ।

‘याला हिमालयन डग च्यू’ को सफलताले नेपाली उत्पादन, विशेषतः ग्रामीण स्रोत र सीपमा आधारित वस्तु, अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ भन्ने विश्वाससमेत दिलाएको छ ।