
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी ओलीले आज (आइतबार) को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको बताएका हुन् ।
‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ । यस बेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठकबाहिर केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने ।
विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसारै अगाडि बढाउनुपर्ने उनको धारणा छ । यसले नेपालको शिक्षाप्रति सरकार उदासीन रहेको सन्देश जान सक्ने उनले औंल्याए । ‘विद्यालय शिक्षा ऐन लामो समयदेखि बहसमा छ । १५ असारभित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिबद्धता पूरा भएको छैन । सरकार र संसद्ले कानुन बनाउने काममा खासै सफलता हात पार्न सकेको छैन,’ उनले भने । यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्ने महरको भनाइ छ ।
‘त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन । प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ, प्राज्ञिक थलोलाई सोहीअनुसार अगाडि बढाउनुपर्छ । परीक्षा, भर्नालगायत सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डरअनुसारै अगाडि बढाउनुपर्छ,’ उनले भने ।
त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ । प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि पुन: प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो ।
त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो । सभाबाट पारित भएपछि मात्र बजेट लागु हुन्छ । सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौं आइसकेका थिए ।