जनकपुर, असार २२ :

नेकपा एमालेका सचिव रघुवीर महासेठले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वर्तमान सत्ता गठबन्धन तोड्ने योजनामा रहेको आरोप लगाएका छन्। उनका अनुसार गठबन्धन तोड्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयास भइरहेका छन्।

आइतबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले गठबन्धन टुटाउन भित्रभित्रै मात्रै होइन, देशभित्र र बाहिरबाट समेत प्रयास भइरहेको बताए। ‘यो गठबन्धन तोड्न माओवादी अध्यक्षकै अगुवाइमा प्रयास भइरहेका छन्,’ महासेठले भने, ‘उहाँलाई केही स्वतन्त्र पार्टीहरू र सांसदहरूले साथ दिइरहेका छन्।’

उनले सत्ता गठबन्धनभित्रकै केही सांसदहरू पनि सरकार बनिएको दिनदेखि नै विदेशी शक्तिको भरमा विरोधमा लागेको आरोप लगाए। महासेठले हालको सरकार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सहकार्यमा अघि बढिरहेको बताए। उनले हालको सरकारविरुद्ध भइरहेका प्रयास सफल नहुने विश्वास व्यक्त गरे।

यसैबीच, महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन लागेको भन्ने अड्कलबाजीमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।

उनले पूर्वराष्ट्रपति भण्डारी पार्टीमा अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा मात्र सक्रिय राजनीतिमा फर्केको बताए। उनले ओली र भण्डारीबीच कुनै प्रकारको अन्तरविरोध नरहेको दाबी समेत गरे।

महासेठका अनुसार भण्डारी पार्टीको पूर्ववरिष्ठ नेतृ भएकाले उनको सक्रियता स्वाभाविक हुने बताए। उनले पार्टीभित्र कार्यकर्ता विभाजन भएको भन्ने दाबी पनि अस्वीकार गरे ।‘म कुनै गुटको होइन, पार्टीकै कित्तामा छु,’ महासेठले थपे, ‘हामीभित्र कुनै प्रकारको अन्तरविरोध छैन।’

महासेठले नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नपाउने कुनै प्रतिबन्ध नलगाएको पनि उल्लेख गरे। त्यस्तै, एमालेको विधानले पनि यस्ता विषयमा रोकटोक नगरेको बताए।