काठमाडौं, असार २३ :

नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीको तर्फबाट कार्यदल गठन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको समेत जनाएको छ ।

यही असार १६ गतेबाट सुरु भएर आज सकिएको बैठकले कांग्रेस र एमालेको संयुक्त सरकार गठन गर्दा गरिएको साँत बुँदामा उल्लेखित संविधान संशोधनको पक्षमा पुन प्रतिबद्धता सहितको निर्णय गरेको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन प्रमुख दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध रहेको निर्णयमा उल्लेख गरिएको छ ।

कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने र संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू,संविधान निर्माणमा योगदान गर्नुभएका विज्ञहरू एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्ने सो पार्टीले जनाएको छ ।

बैठकमा कांग्रेसले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । किसानहरुलाई रासायनिक मल  सहज रुपमा उपलब्ध गराउन सरकारकव ध्यानाकर्षण गरेको छ । चाँदीलाई विलासिताको वस्तुको रुपमा परिभाषित गर्नु उपयुक्त नदेखिएको  कांग्रेसको धारणा  छ ।आन्दोलनरत  चिकित्सकहरूसँग संवाद गर्न सरकारसँग माग गरेको छ  ।

साथै मौसम पूर्वानुमानका अनुसार विगतको तुलनामा यस वर्ष अझ भारी वर्षा हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै कांग्रेसले पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।