
भोटेकोसीमा असार २४ गते राति आएको भीषण बाढीका कारण स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध बनेपछि सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर ४८५ जनाको उद्धार गरेका छन्।
सशस्त्र प्रहरीका नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकालाई सुरक्षासहित गन्तव्यमा पुर्याइएको छ। भन्सार कार्यालय यार्डमा फसेका दुई कन्टेनर र एक इभी गाडी पनि सुरक्षित स्थानमा सारिएको छ।
बाढीका कारण तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालसम्म चार जनाको शव र पाँच वटा मानव अंग फेला परेको छ। एक शवको मात्र पहिचान हुन सकेको छ।
तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढी मिसिएपछि रसुवागढीस्थित नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुगेको छ। नाका बन्द हुनुका साथै विद्युत आपूर्ति अवरुद्ध भएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासी परिचालित छन्। असार २४ गते मात्र ५० नेपाली, एक चिनियाँ र चार भारतीय नागरिक गरी ५५ जनाको सकुशल उद्धार गरिएको थियो।जोखिममा रहेका १६५ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
बाढीले ४२ इभी गाडी, २३ कन्टेनर ट्रक, ६ ट्रक, ८ हेभी इक्विपमेन्ट, ३० वेल्डिङ मेसिन, २० ग्राण्डिङ मेसिन, लोडर, एक्जाभेटर लगायतका साधन बगाएको छ।
इभी चार्जिङ स्टेसन, रसुवागढी जलविद्युतको ड्याम, हेडबक्स, लेबर क्याम्प र चिलिमे जलविद्युत आयोजनाको सुरुङमार्गमा समेत ठुलो क्षति पुगेको छ।