
काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक बसेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षमा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि बजेट सीमा (सिलिङ) निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ अर्बको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गरेको हो । बैठकमा प्रमुख शाहले जनचाहनाअनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।
यसपछि ४०औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्नेछ ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्रले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । उपप्रमुख सुनीता डंगोलले बजेट पेस गर्नेछिन् ।
बैठकमा राजस्व परामर्श समितका संयोजक, सदस्य, सदस्य-सचिव तथा विभागीय प्रमुखहरुको उपस्थिति थियो ।