
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफपछि आउनुपर्नेमा छापामार शैलीमा ल्याउन लागेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तर्क्रियामा कार्यपत्र प्रस्तुत गर्दै मौद्रिक नीति दीर्घकालीन प्रभाव हेरेर ल्याउनुपर्ने धारणा राखे ।
अर्धवार्षिक समीक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पुर्याउन माग गरेका छन् । नेपालको ब्यालेन्स अफ पेमेन्ट पर्याप्त हुँदा अटो लोनको विषयमा खुला गर्दा फरक नपर्ने उनको भनाइ छ ।
‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरु भइरहेको समयमा साउन पहिलो साता आउने गरेकामा छिटै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन् । नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन् ।’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा थापाले सरकारले सवारीसाधनमा बढी कर लगाउँदा मुद्रास्फिति नबढे पनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महँगो रहेको बताए । नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भइरहेको पनि बताए ।