काठमाडौं, असार २८ :

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरुले कस्तो काम गरे भन्ने कुरा जनताले नियालिरहेको बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरुको अवस्था कस्तो थियो र अहिले नेपालको अवस्था र उनीहरुको अवस्था कस्तो छ भन्ने नियाल्न जरुरी रहेको बताए ।

उनले अधिकांश समय नेपालको सरकारमा कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेको जिकिर गर्दै सरकारमा रहेर काम गरेकाको मूल्यांकन जनताले गरिरहेको बताए ।

‘विभिन्न शक्ति राष्ट्रहरुमा राजनीतिक दलहरुको अवस्था कस्तो थियो । आज कुन अवस्थामा छन् । नेपालमा पनि हामीले ०४८ सालदेखि तुलना गर्ने हो भने आज राजनीतिक दलको अवस्था के छ ? बहुदल ल्याएको पनि ०४६ सालदेखि हिसाब गर्ने हो भने धेरै लामो समय पार गरिसकेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘विशेषगरी सत्तामा कांग्रेस, एमाले र माओवादी छौँ । पछिल्लो अवस्था तुलना गर्ने हो भने त माओवादी पनि अरु दलसरह हुन लागिसक्यो ।’

सह-महामन्त्री परियारले शक्ति राष्ट्रमा काम गर्न नेपालको दक्ष जनशक्ति गइरहेको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्ने कुरा नागरिकस्तरबाट मूल्यांकन भइरहेको बताए ।