
काठमाडौं महानगरपालिकाले १७औं नगरसभाबाट आगामी आर्थिक वर्ष ०८२/८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
मेयर बालेन्द्र शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताए । उनका अनुसार काठमाडौं महानगरपालिकालाई समावेशी सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, नवप्रवर्तनमुखी स्मार्ट सहरका रुपमा रुपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सांस्कृतिक तथा सम्पदा संरक्षण र दिगो सहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
महानगरको आगामी वर्षको नीति तथा कार्यक्रममा ०८१/८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीतिहरु र सम्पन्न हुन बाँकी योजनाहरुलाई निरन्तरता दिइनेछ । आवधिक रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइनेछ ।
नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रमअनुसार समावेशी उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पुँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइनेछ ।
सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिनेछ । अपतांगता, अटिजम, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष शिक्षण केन्द्र र पहुँच पुर्याउन सोहीअनुसारका पूर्वाधार निर्माण गर्नेजस्ता नीति लिइएको छ ।