
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको त्रुटि र छेडखानीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिले छानबिन प्रक्रिया सुरु गरेको छ ।
समितिले आइतबारबाट आफ्नो छानबिन प्रक्रिया सुरु गरेको हो । संघीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरासँग बयान लिएर अनुसन्धानलाई औपचारिक रुपमा अघि बढाएको समितिका संयोजक जीवन परियारले जनाए ।
प्रतिनिधिसभाबाट पारित विधेयकको प्रतिवेदनमा भएको गम्भीर त्रुटिको कारण पत्ता लगाउने कार्यादेश पाएको समितिले सचिव दुरालाई बोलाएर सोधपुछ गरेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई प्रतिनिधिसभामा पेस भएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को प्रतिवेदनमा नभएको विषय थपिएपछि विवाद सिर्जना भएको थियो ।
विधेयकको दफा ८२ मा उपदफा (४) थपिएपछि त्यसले उपदफा (५) को व्यवस्थासँग कानुनी तादात्म्यता नमिलेको भन्दै प्रश्न उठेको थियो ।