काठमाडाैं, असार २९ :

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस मागेको भनिएको अडियो सार्वजनिक भएपछि तीव्र दबाबमा परेका छन्। चौतर्फी आलोचना बढेपछि उनी राजीनामा दिने तयारीमा जुटेका छन्।

विवादित अडियो बाहिरिएसँगै सत्तारूढ नेपाली कांग्रेसकै सांसदहरूबाट राजीनामाको आवाज उठेको छ। प्रतिपक्षी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलहरूले पनि गुप्तालाई पदबाट हट्न माग गरेका छन्। तीव्र राजनीतिक दवाबका बीच मन्त्री गुप्ता हाल आन्तरिक छलफलमा छन्।

गुप्ताले आफू एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहको पर्खाइमा रहेको बताएका छन्। ‘पार्टीले जे भन्छ, त्यही गर्छु,’भन्दै उनले आफू स्वेच्छाले निर्णय नगर्ने संकेत दिए। तर ओली हाल झापामा रहेका कारण अन्तिम निर्णयमा ढिलाइ भएको छ।

मन्त्री गुप्ताले अडियोमा उठेका विषयहरू अझै प्रमाणित नभएको भन्दै तत्काल राजीनामा दिने पक्षमा आफू नरहेको स्पष्ट पारे। ‘कसैले राजीनामा माग्दैमा दिँदै हिँड्ने हो भने थुप्रै जनामाथि प्रश्न उठेका छन्,’ उनले भने।

२०८१ असार ३१ गते मन्त्री बनेका गुप्तामाथि अडियो प्रकरणपछि प्रधानमन्त्री ओली समेत असन्तुष्ट रहेको स्रोतहरूले बताएका छन्। अडियो टेपको सत्यता पुष्टि नभए पनि सार्वजनिक दबाब र राजनीतिक प्रतिक्रियाले गुप्ताको पद धरापमा परेको छ। अब प्रधानमन्त्रीसँगको छलफलपछि मात्र उनको राजीनामाको टुंगो लाग्ने देखिन्छ।

केहीदिनअघि मात्रै मन्त्री गुप्ताले  मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडियो बाहिरिएको थियो। मन्त्री गुप्ताकै आवाज जस्तो सुनिए पनि यसको औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।