
घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
गुप्ताले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘कहिले-काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य-तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।’
केहीदिन अघि गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको अडिओ सार्वजनिक भएको थियो ।
उनले सामाजिक सञ्जलामार्फत भनेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारि बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर-दैलोमा आउने प्रण गर्दछु ।’
भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको गुप्ताको अडिओबारे सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार करिब १० मिनेट लामो संवादमा गुप्ताले एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा प्रस्ट सुनिन्छ ।
अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।
सदनमा पनि सांसदहरुले मन्त्रीको घुस डिलको अडियो सार्वजनिक भएसँगै सत्यतथ्य छानबिनसँगै गुप्ताको राजीनामा मागेका थिए ।