
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरु नेपालमै बनाउनुपर्ने बताएका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए ।
उनकाअनुसार अब साना गाडीहरु प्रतिस्थापन गर्नुपर्छ । शहरमा वातावरणमैत्री ठुला सिटी बसहरु चलाउनुपर्छ । सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको बताए।
विदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताए। कार्यक्रममा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरुका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टी पोखे । उनले त्यस्ता प्रतिवेदनहरु कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी गरे।
सोही कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले पछिल्लो समय इभी गाडीहरु चिनबाट आएको तर त्यसको गुणस्तर परिक्षण हुन नसकेको बताए । उनकाअनुसार भारतबाट आउने गाडीमा खासै समस्या छैन तर चीनबाट आउने गाडीहरुमा आशंका छ ।
उनले राइड शेयरिङ व्यापार भएकाले त्यसलाई कडा नियमन गर्नुपर्ने बताए । खनालकाअनुसार यातायात ऐनले कालो प्लेट राख्नेले यातायात बोक्न पाउने नीति छ । जुनसुकैले प्लेटले व्यापार गर्ने हो भने कानूनको अर्थ रहँदैन । राइड शेयरिङले पुँजी पलायन गरिरहेको बताउँदै यसमा राज्यको ध्यान जानुपर्ने उनको भनाइ रहेको छ ।