
साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली छाएको छ ।
सोमबार ३५.०९ अंकले घटेको सेयरबजार मंगलबार ३४.४६ अंकले बढेको थियो । हिजो (बुधबार) पनि ३४.६१ अंकले सेयरबजार बढेको थियो । बढ्ने क्रमलाई निरन्तरता दिँदै आज (बिहीबार) ७५.८४ अंकले बढेको नेप्से २,८७०.६३ विन्दुमा रोकियो ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११.२२ अंकले बढेर ५००.४९ अंकमा चढेको छ ।
नेप्सेमा आज ३११ वटा कम्पनीको एक लाख ४१ हजार ४३४ पटकको कारोबारमा तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच भए । जसअनुसार आज १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ रुपैयाँबराबरको कारोबार भएको छ ।
सेयर बजारमा हरियाली छाएको आजको दिनमा २३९ कम्पनीको सेयर मूल्य बढे । ९ वटा कम्पनीको मात्र घट्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १३ वटै समूहको सूचकमा हरियाली छायो ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढ्यो । जसअनुसार ट्रेड टावरको सेयरमूल्य प्रतिकित्ता ४०२.७० रुपैयाँ कायम रह्यो ।
बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा नबिल स्टेबल फन्ड परेको छ । यसको सेयर मूल्य सर्वाधिक ७.५८ प्रतिशतले घटेर प्रतियुनिट मूल्य ९.१४ रुपैयाँमा झरेको छ ।
नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १,३७२ रुपैयाँमा रह्यो । यसको ८४ करोड ४२ लाख ७३ हजार ६४८ रुपैयाँको सेयर कारोबार भएको छ ।