काठमाडौं, साउन २ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मिहिनेत गर्नैपर्ने बताएका छन् ।

गुह्येश्वरी बाल शिक्षा मावि थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उनले विद्याथीहरुलाई मिहिनेती बन्न सुझाए । मिहिनेत र परिश्रमविना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले विद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन पनि आग्रह गरे ।

‘तपाईंहरु जस्तो पारिवारिक पृष्ठभूमिबाट आउनुभएको भए पनि भविष्य तपाईंहरुको हातमा छ । अध्ययनको अवसर सदुपयोग गर्नुस् । विनामिहिनेत कोही पनि सफल हुँदैन । मिहिनेत, परिश्रम गर्नुस् । भविष्य उज्ज्वल छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले शैक्षिक अवस्था राम्रो बनाउन विद्यार्थी, अभिभावक र विद्यालय परिवार सबैको साझा प्रयत्न आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विद्यालयका उत्कृष्ट शिक्षक एवं विद्यार्थीलाई सम्मान एवं पुरस्कार वितरण गर्दै आगामी दिनमा अझै राम्रो गर्न शुभकामना दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाल पनि सहभागी थिए ।