
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राखेकी छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा शुक्रबार उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा यस्तो धरणा राखेकी हुन् । उनले पछिल्लो समय यातायातको दायरा ठुलो भइसकेको उल्लेख गर्दै सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताइन् ।
सांसद गौतमले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रस्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रहसमेत गरिन् ।
‘यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरुलाई एकै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुन्छ । यातायातको साधनहरुमध्ये हवाई यातायात अलिकति सेफ हुन्छ भनेर मान्छे चढ्ने हो । अहिले पनि हवाईभन्दा सडक दुर्घटना धेरै भइरहेको छ,’ उनले भनिन्, ‘यसलाई पनि मध्यनजर गर्नुपर्छ । यो विधेयकमा सेवा दिने संस्थाले राम्रो सेवा दिनुपर्यो । सेवा प्रदायक संस्था हुने भएको यस प्राधिकरणले आम्दानी राम्रै गर्ला । तर नियमनकारी निकायले कसरी जोहो गर्छ त ? यो प्रश्न सैद्धान्तिक रुपमा उठेको कारणले यसरी हेर्नुपर्छ ।’
बैठकमा बोल्ने अधिकांश सांसदले हवाई यातायातलाई थप प्रभावकारी भूमिका खेल्न विधेयक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखेका छन् ।