
अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ १ देखि ६ गतेसम्म ‘स्टयाग ग्लोबल च्याम्पियन्स लिग- सिजन थ्री’ हुने भएको छ ।
प्रतियोगिताको तेस्रो संस्करणमा पनि स्टयाग ग्लोबल प्रालि इन्डियाले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरका रुपमा निरन्तरता दिने भएको छ । यसका लागि शुक्रबार स्ट्याग ग्लोबल प्रालिका अध्यक्ष विवेक कोहली र स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नवित श्रेष्ठबीच सम्झौता भएको छ । प्रतियोगितालाई आवश्यकता पर्ने टेबलटेनिस टेबल, रेफ्री कुर्सी, बल, स्कोर बोर्ड, टाबेल बक्स, अफिसियल किट आदि १५ लाख रुपैयाँबराबरको सामग्रीहरु प्रदान गर्नेछ ।
६ दिन चल्ने मिक्स टिम लिग प्रतियोगितामा देशभरका विभिन्न क्लबले सहभागिता जनाउनेछन् । सहभागी क्लबले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गराउन पाउनेछन् ।
प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले नगद एक लाख पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् । तृतीय हुने (दुवै सेमी-फाइनलिस्ट) टिमले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।