
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए ।
प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरु अघि बढिरहेको उनको भनाइ छ । पालिकाहरुको प्रतिनिधि पुगेर प्रदेश सभा गर्ने व्यवस्था गर्ने र त्यसपछि नै एक-अर्काले प्रदेश, स्थानीय तहलाई बुझ्ने बताए ।
रास्वपाले संघमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको पनि उनले जनाए । विभिन्न कालखण्डमा बनाइएका आयोगहरु खारेज गर्ने पक्षमा रास्वपा रहेको झाले उल्लेख गरे ।
‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ । प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ । त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ,’ उनले भने ।
सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताए । सत्तापक्षाले संसद्मा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने उनको भनाइ छ ।