काठमाडाैं, साउन ३ :

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्न खोज्ने जो–कोही नेतालाई फाइल देखाएर तर्साउने प्रवृत्ति अपनाउँदै आएको आरोप लगाएका छन्।

शनिबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओलीले विगतदेखि नै फाइलमार्फत राजनीतिक दबाब दिने शैली अपनाएको र त्यो अहिले पनि दोहोरिएको बताए।

उनका अनुसार कांग्रेसभित्र नेतृत्व परिवर्तनको चर्चा चल्न थालेपछि ओलीले परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीरलाई पनि फाइल देखाएर तर्साउन खोजेको दाबी गरे। ‘कांग्रेस अलिकति चलमलाउन थाल्यो, नेतृत्व आफैंले लिने कि भन्ने भयो भने अब आरजुका आमा–छोराको पालो भनेर कांग्रेसलाई तर्साउने काम भइरहेको छ,’ उनले भने।

त्यस्तै, उनले भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिद मुद्दामा मोहनबहादुर बस्नेतलाई तानेर कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि ओलीले दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए।

पुनले नेकपाको समयमा माओवादी नेता रामबहादुर थापा बादलका छोराको फाइल तयार गरेर उनलाई एमालेमा ल्याएको आरोप पनि लगाए। ‘बादलजीका छोराको फाइल बनाएर अन्त्यमा उहाँलाई एमालेमा लैजानुभयो,’ उनले भने।

ओलीलाई उनले ‘चरम दक्षिणपन्थी नेता’ को संज्ञा दिँदै यस्तो प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने चेतावनी पनि दिए।