काठमाडौं, साउन ४ :

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र ०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार हिजो (शनिबार) ५४ वटा केन्द्रमा सञ्चालित परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी थिए । जसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अंक (४०%) आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घण्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताए । ‘शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ । एक महिनाभन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घण्टामै नतिजा प्रकाशित गर्न सकियो । यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो,’ उनले भने, ‘दुई वर्षको अनुभव, शिक्षा विभागको सक्रियता र योजना आयोगको समन्वयका कारण यस्तो नतिजा सम्भव भएको हो ।’

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० वटा बहुवैकल्पिक प्रश्न समावेश थिए । गलत उत्तरका लागि नकारात्मक अंकनको व्यवस्था थिएन । देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ जना परीक्षामा सहभागी थिए ।

नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मा प्रकाशित गरिएको छ । विद्यार्थीहरूले आफ्नो एसईईको सिम्बोल नम्बर, जन्ममिति र इमेल वा एसएमएसमार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् । महानगरपालिकाअन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् ।