
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताएका छन् ।
मन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताएका हुन् ।
उनले रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको जानकारी दिए । यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा गरेको उनले बताए । अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको बताए।
विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको पनि बताए । कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको बताए । मन्त्री अधिकारीले कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको बताए ।
मन्त्री अधिकारीले रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव प्रचार प्रसार गर्न साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको पनि बताए । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको बताए । गत मंसिरदेखि केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएको बताए।
मन्त्री अधिकारीले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे ।