काठमाडौं, साउन ५ :

साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा हरियाली छाएको छ । आजको दिनमा नेप्से २१.७६ अंकले बढ्दै २८९२.७२ विन्दुमा रोकिएको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.४६ अंकले बढ्दै ५०२.४९ अंकमा चढेको छ ।

नेप्सेमा आज ३११ वटा कम्पनीको एक लाख ३८ हजार ८२८ पटकको कारोबारमा तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाएको आजको दिनमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ वटा कम्पनीको मूल्यमा गिरावट आयो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १३ वटै समूहको सूचकमा हरियाली छायो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड परेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । जसअनुसार थ्रीस्टारको अन्तिम सेयरमूल्य प्रतिकित्ता ८९०.१० रुपैयाँ कायम रह्यो ।

बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो र दोस्रो स्थानमा क्रमश: ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । यी दुवै कम्पनीका सेयर मूल्य १० प्रतिशतले घटे ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १,४९५ रुपैयाँमा रह्यो । यसको ७५ करोड ६६ लाख ४६ हजार ३०७ रुपैयाँको सेयर कारोबार भएको छ ।