
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउने कुराबाट कोही कसैले भयभीत हुन नपर्ने बताएकी छिन् । उनले पुनः नेपाली राजनीतिमा सक्रिय हुने बताइरहँदा एमाले भित्र तनाव उत्पन्न गराएको छ।
भंगालमा मंगलबार आयोजित राजनीतिक पत्रकारहरुसँग बोल्दै उनले अब पछि हट्ने स्थिति छैन भन्दै आफ्नो राजनीतिक सक्रियता स्पष्ट पारिन्। उनले भनिन् , ‘म अघि बढिसके, खुट्टा कमाउँदिन।’
भण्डारीले विशेष गरी आफ्नो पक्षमा आवाज उठाउने व्यक्तिहरूमाथि आतंकित पार्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएकी छिन्। मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिँदैछ, यस्तो बन्द गर्नुपर्छ उनले भनिन्।
भण्डारीको पछिल्लो अभिव्यक्तिले उनी ओलीसँग झुक्ने मनस्थितिमा नरहेको प्रस्ट भएको छ। ओलीको थुमथुम्याउने’ शैलीले उनीलाई रोक्न सक्ने सम्भावना नदेखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। भण्डारीले स्पष्ट रुपमा पार्टी सदस्यताको मात्रै होइन, नेतृत्वमा दाबी गर्ने संकेत दिएकी छन्, जुन कुरा ओलीलाई अपच भइरहेको देखिन्छ।
ओली–भण्डारी सम्बन्धमा चिसोपन
एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको सम्बन्ध पछिल्लो समय झन् तनावपूर्ण बन्दै गएको छ। भण्डारी पार्टी राजनीतिमा सक्रियता बढाउँदै गर्दा ओलीले सार्वजनिक रुपमा कसैको प्रवक्ता नबन्न चेतावनी दिएका थिए। यसलाई धेरैले भण्डारीकै सन्दर्भमा बोलेको संकेतको रूपमा लिएका छन्।
भण्डारीको पछिल्ला गतिविधि हेर्दा उनले केवल पार्टीको सामान्य सदस्य बन्ने नभई नेतृत्व तहमा दाबी गर्ने तयारी गरिरहेकी छिन्। उनको यस्तो रणनीति एमाले अध्यक्ष ओलीलाई सहज नलाग्ने प्रष्ट छ। यही कारण दुई दिन अघि भएको ओली–भण्डारी भेटमा पनि ओलीले राजनीतिक तवरबाट समस्याको समाधान खोज्नुपर्छ भन्दै आन्तरिक शक्ति संघर्षलाई चोखो ढंगले सम्बोधन गर्नुपर्ने सन्देश दिएका थिए।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियता एमाले राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिन्छ। उनले बोलेका कडा शब्दहरू, केवल पार्टी भित्रको असहजता मात्रै होइन, भावी सत्तासंघर्षको संकेत पनि हुन्। अब एमाले भित्र नेतृत्वको अर्को अध्याय सुरु हुने संकेत स्पष्ट देखिन थालेको छ।