
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको जनक भएको बताएका छन् ।
कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको पिता भएको बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताए । नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको भुसालको दाबी छ ।
‘कमरेड पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको पिता, नेपाली कम्युनिस्ट आन्दोलनका जनक भनेर बुझ्नुपर्छ । उहाँको योगदानका आधारमा हामीले मूल्यांकन गर्नुपर्छ । पुष्पलाल नै त्यो व्यक्तित्व हुनुहुन्छ, जसले नेपालमा मार्क्सवादको प्रवेश गराउनुभयो,’ उनले भने, ‘सर्वप्रथम नेपालमा मार्क्सवादको प्रवेश गराउने नेपाली भाषामा मार्क्सवादको व्याख्या गर्ने पहिलो व्यक्ति हो पुष्पलाल ।’
उपाध्यक्ष भुसालले पुष्पलालले सुरु गरेका काम आज पनि अधुरै रहेको बताए । ‘मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने पुष्पलालको लक्ष्य आज पनि अधुरो छ,’ उनले भने ।